भावनात्मक रूपमा प्रतिक्रिया दिनु vs भावनात्मक बुद्धिमत्तासँग प्रतिक्रिया दिनु (Reacting Emotionally vs Responding with Emotional Intelligence)

मैले कुरा गर्दै गरेको एक संस्था को शैक्षिक सञ्चालकले, मेरो सुपरवाइजरलाई फोन गरेर भनिन् कि, म उहाँसँग "कठोर" थिएँ। उहाँले भावनात्मक रूपमा प्रतिक्रिया दिनुभयो, तर म मेरो भावनात्मक बुद्धिमत्तासँग प्रतिक्रिया दिन चाहन्थें।

खास मा के भएको थियो?
मैले त्यो संस्था मा हाम्रो सत्र सञ्चालन गर्नुपर्ने जिम्मेवारी लिएको थिएँ। हाम्रो संस्था को नीति अनुसार, सत्रहरू अघि बढाउन दुबै पक्षले हस्ताक्षर गरेको सम्झौता हुनु पर्थ्यो। मैले बारम्बार त्यो संस्थासँग यो कुरा गरे तापनि मैले कुनै जवाफ पाएन। सत्र सुरु हुन एक दिन मात्रै बाँकी थियो। मैले सम्झौताबारे फेरि सञ्चालकलाई सम्झाउँदै भने - यदि सम्झौतामा साइन गरेर त्यसै दिन फर्काइएको भएन भने यो सत्र अघि बढाउन हामीलाई गाह्रो हुनेछ। यस्तो हुँदा उहाँले मलाई जवाफ नदिएर, मेरो सुपरवाइजरलाई फोन गरेर भनिन् कि म उहाँसँग "कठोर" थिएँ।

मैले भावनात्मक रूपमा प्रतिक्रिया दिनु कस्तो देखिन्थ्यो?
उहाँको यो व्यवहारलाई मैले व्यक्तिगत रूपमा लिएको भए, "My Emotions Matter" हाम्रो संस्थामा भनिने जस्तो "ABCDs" अनुसार प्रतिक्रिया दिन्थेँ होला। "ABCD" यस्तो प्रकारको प्रतिक्रिया हो जसमा हामी नचाहिकन फस्न सक्छौँ।

A भनेको Assumptions अर्थात अनुमान लगाउने: म अनुमान गर्न सक्थेँ कि त्यो व्यक्तिले मेरो नराम्रो चाहेर मेरो सुपरवाइजरसँग मेरो बारेमा गुनासो गरेको हो।

B भनेको Blame अर्थात दोष लगाउने: म उनलाई "एकदमै असहयोगी" र "मात्तिएको मान्छे" भनेर दोषी ठान्न सक्थेँ।

C भनेको not Communicating अर्थात कुरा नगर्ने: म "passive-aggressive" (घुमीफिरी आक्रमक तरिकाले) जवाफ दिन सक्थेँ, वा म यो कुराबाट पर भाग्न सक्थेँ – दुबै कुराले मलाई मद्दत गर्ने थिएन।

D भनेको Demand अर्थात अनुरोध होइन माग गर्ने: म जिद्दी भएर उहाँलाई पहिले माफी माग्न लगाउन सक्थेँ र त्यसपछि मात्र सत्र चलाउन माग गर्नसक्थेँ।

यदि मैले माथि भनेका कदमहरू लिएको भए र त्यसै अनुसार प्रतिक्रिया दिइरहेको भए, म आफ्नै लागि तनाव निम्त्याउने थिएँ। अगाडि बढेर अन्य विषयमा कुरा गर्न सक्दैन थिएँ, अन्ततः खराब सम्बन्ध निर्माण गर्ने थिएँ।

तर मैले भावनात्मक बुद्धिमत्तासँग यो स्थिति मा प्रतिक्रिया दिन सकेँ र यो तीन तरिकाले सम्भव हुन सक्यो।

आफ्नो व्यवहारलाई आफ्नो आवश्यकतासँग जोडेर प्रतिक्रिया दिने
ABCDs ले मलाई छोटो समयको सन्तुष्टि दिन सक्थ्यो, तर यसले मलाई आफ्ना उद्देश्यबाट टाढा पुर्याउँथ्यो। यो स्थितिमा मेरो लागि सबैभन्दा महत्त्वपूर्ण आवश्यकता भनेको सहकार्य र स्पष्ट संचार थियो र मैले यही कुराको जिम्मेवारी लिएर, प्रतिक्रिया दिने निर्णय गरेँ। मैले उनलाई व्यक्तिगत रूपमा भेट्ने प्रयास गरेँ र हस्ताक्षर गरिएको सम्झौता किन महत्त्वपूर्ण थियो भनेर बुझाउने कोशिस गरेँ। यो स्थितिमा, मेरो आवश्यकता प्रतिको चेतनाले मलाई उहाँको व्यवहारलाई फरक दृष्टिकोणबाट हेर्न मद्दत गर्यो। 

उहाँको केही व्यवहारहरु जस्तै सुधारिएको तालिका नपठाउनु, मेरो इमेलको जवाफ फोन मार्फत दिनु, सम्झौताका लागि मेरो इमेलको जवाफ नदिनु र मेरो सुपरवाइजरलाई फोन गर्नुले मलाई नकरात्मक असर पारेको थियो। मैले ती सबै व्यवहारलाई मन मा लिनु भन्दा पनि उहाँको आफ्नै आवश्यकताहरु पुरा गर्ने प्रयास को रुप मा लिएँ। मैले हेर्न सकेँ कि उहाँले यस परिस्थिति मा शायद सहजता, सुविधा र आदरको (उहाँका आवश्यकताहरू) लागि त्यो सबै व्यवहारहरु गर्नु भयो।

आफ्नो अनुमानहरूलाई आफ्नो आवश्यकतासँग जोडेर प्रतिक्रिया दिने
उहाँले मलाई "कठोर" भन्दा म पनि उहाँप्रति धेरै अनुमान र दोषहरू लगाउन प्रेरित भएको थिएँ। "ए! म पो कठोर भएँ? आफ्नो असहयोगी, अन्यायपूर्ण र बच्चा जस्तो व्यवहार चाहिँ देख्नु छैन।" मेरो यस्ता अनुमानहरूलाई बुझ्दा, मैले विस्तारै पत्ता लगाएँ कि यी अनुमानहरूले पनि मेरो आफ्नै आवश्यकताहरूको संकेत गर्दै थिए। उहाँलाई “अन्यायपूर्ण” मान्छे जसरी हेर्दा मैले समानता खोज्दै थिएँ। "असहयोगी" भन्नाले मलाई सहयोग चाहिएको थियो। "बच्चा जस्तो" भनेर हेर्दा मलाई भावनात्मक परिपक्वता महत्त्वपूर्ण रहेको कुरा प्रष्ट भयो। 

उहाँले मेरो बारेमा गरेका अनुमानहरूले पनि उहाँका आफ्नै आवश्यकताहरूको संकेत थिए। विशेष गरी जति बेला उहाँले मेरो सुपरवाइजरलाई फोन गरेर भनिन् कि सत्र सुरु हुनु भन्दा एक दिन अघि उनको कार्यालयमा सम्झौता साइन गरेर पठाउन कोही थिएन। उहाँले मलाई "कठोर" भन्दा उहाँलाई आदर र सहयोग चाहिएको कुरा बुझ्न सकिन्छ। 

आफ्नो भावनाहरूलाई आफ्ना आवश्यकतासँग जोडेर प्रतिक्रिया दिनु
जब उहाँले मलाई "कठोर" भनिन्, निराशा र झर्को लागेको महसूस गरेँ किनभने म त आफनो काम राम्ररी गर्न धेरै प्रयास गरिरहेको थिएँ। आफ्नो सुपरवाइजरसँग यसको बारेमा कुरा गर्न पाउँदा मलाई आभारी महशुस भयो। उहाँको साथ पाउँदा, तनावको स्थिति भए तापनि मैले सहजताका साथ यो स्थिति सम्हाल्न गर्न सकें। उहाँको समर्थनको कारणले पनि दुई संस्थाहरू बीचको तनाव कम भयो र उहाँले संचालकलाई पनि बुझाउन सक्नु भयो कि मेरो व्यवहारको उद्देश्य कसैलाई पनि तनाव दिनु थिएन।

सुरुवातमा निराशा झर्को लागेको भए पनि, मैले आफ्नो ध्यान यस कुरामा पनि केन्द्रीत गरें कि म यस अनुभवबाट के कुरा सिक्न सक्छु। भविष्यमा यस्तो स्थिति नहोस् भनेर अहिले के गर्न सक्छु भन्ने कुरा पनि मेरो लागि महत्त्वपूर्ण थियो।

मैले मेरो आफ्नै भावनाहरूसँग सहानुभूति जनाउँदा, उहाँप्रति पनि सहानुभूति जनाउन मद्दत पुग्यो। मैले बुझ्नसकें कि उहाँलाई पनि यो स्थितिमा मबाट सहानुभूति र सोच-विचार पक्कै चाहिएको थियो होला। यही भएर, मैले सत्रको एक दिन अगाडि सम्झौताका लागि सम्झाउँदा, उहाँ अचम्मित हुनु भएको वा दबाव महसुस गर्नुभएको होला।

अन्ततः के भयो?
सत्रपछि, मैले उहाँसँग व्यक्तिगत रूपमा भेटेर मनमुटावहरू स्पष्ट गरेँ। यो सजिलो कुरा थिएन, तर मैले यो गर्नु आवश्यक ठानेँ किनकि आपसी समझदारी कायम राख्न मेरो लागि महत्त्वपूर्ण थियो। उहाँले आफ्नो व्यवहारलाई पूर्ण रूपमा स्वीकार नगरे पनि, मैले उहाँलाई सुन्नको लागि समय निकालेकोमा सराहना गर्नुभयो। सम्बन्ध सुधार गर्नको लागि प्रयास गरेर, हामी अगाडि बढ्न सफल भयौँ। भावनात्मक बुद्धिमत्तासँग मैले आफ्ना व्यवहार, अनुमान र भावनाहरूलाई आफ्ना आवश्यकतासँग जोडेर प्रतिक्रिया नगरेको भए, यो सबै सम्भव नहुने थियो।


This Writeup in English: Reacting Emotionally vs Responding with Emotional Intelligence

Written by: Aprajita Jha
Translated by: Yuga Thapa 
Edited by: Aprajita Jha

Tags