भावनात्मक साक्षरता: हाम्रा भावनाहरु पछाडिका जानकारीहरु पहिल्याउँदा

एकपटक कक्षा छ'मा पढ्दै गर्दा म एकदम बिरामी अवस्थामा पुगेँ। एक महिना जस्तो ज्वरो र शरीर दुखाइले थलिएको। जति वटा डाक्टरहरुलाई देखाएँ सबैले टाइफाइड भन्दै 'हाइ डोज' का औषधिहरु लेखिदिनु भयो। मलाई कुनै औषधिले छोएको थिएन। मेरो पीडा र दुखाइ जस्ताको तस्तै। बा-आमा मेरो अवस्था देखेर अत्यन्तै चिन्तित भएको महसुस भइरहेथ्यो। यत्तिकैमा अर्को एक जना डाक्टरलाई देखाएँ। नयाँ भेषमा आशाको दियो बलेको झैँ देखियो। डाक्टरले डेढ महिनादेखि मलाई टाइफाइड नभएर मुत्रनलिमा संक्रमण (urinary tract infection) भएको भन्नुभयो।

यो घटनाले मलाई महत्वपूर्ण पाठहरु सिकाए। कुनै पनि कुराको सहि समाधान भेट्टाउन मुलत: समस्यालाई राम्ररी बुझ्न आवश्यक छ भन्ने कुरा यही घटनाले सिकायो। यहि कुरा जिन्दगीका कति धेरै पाटाहरुमा वास्तविक लाग्यो, विशेषत: आफ्ना भावनाहरु पहिल्याउन खोज्दाको अवस्थामा। मैले जीवनको अधिकांश समय आफूलाई "घात पर्नु" र "रिस उठ्नु" उस्तै अनुभूति हुन् भन्ने भ्रम बोकिरहेँ। आफू भित्र भित्रै आहत भइरहँदा, वरिपरिका मानिसहरुबाट म समानुभूती र सम्बन्धको अपेक्षा राख्थेँ। तर मेरो प्रतिक्रिया जहिल्यै आफ्नो अपेक्षा विपरित भइदिन्थ्यो र नजानिँदो गरि मानिसहरु मबाट पर धकेलिन्थे।

आफूलाई चोट परिरहेको कुरा व्यक्त गर्न म सधैँ असमर्थ थिएँ। कारण मसँग आफ्ना भावना व्यक्त गर्ने शब्दहरु अत्यन्त सिमित थिए। जस्तो कि 'दु:खी छु', 'खुसी छु' अथवा 'रिस उठेको छ' भन्दा बाहेकका शब्दहरुले मेरा भावना पोख्न जानेको थिइनँ। एउटा रोग लागिरहेको अवस्थामा अर्को रोगको उपचार हुँदा, मैले निकै कठिनाइ भोग्नु परेको थियो। मलाई लाग्छ हाम्रा वास्तविक भावनाहरुलाई नकाव भिराएर.. "उदासी", "तनाव" र "खुसी" शब्दले मात्र अनुभूतिहरुलाई परिभाषित गर्दा गलत रोगको उपचार हुँदाको जस्तै नतिजा भोग्नुपर्छ। हाम्रा फरक फरक भावनाहरुलाई- फरक फरक दर्जा दिनु र चिन्न सक्नुले ती अनुभूतिहरुलाई सहजै स्विकार गर्न सक्ने स्थिती निर्माण गर्छ। र सोही अनुरुप तिनलाई व्यवस्थापन गर्न मद्दत पुर्‍याउँछ।

"My Emotions Matter" सँग उचित समयमा जोडिन पुगेँ भन्ने खुसी लाग्छ। यो त्यहि संस्था थियो जहाँ मैले फरक फरक भावनाहरु छुट्याउन र तिनलाई सकारात्मक रुपमा व्यक्त गर्न सिकेँ। "भावनात्मक साक्षरता" सिकेँ। बुझेँ।

भावनात्मक साक्षरता- अथवा आफ्ना फरक फरक भावनाहरुलाई सकारात्मक रुपमा छुट्याउन सक्ने , बुझ्न सक्ने, व्यक्त गर्न सक्ने क्षमता हुनु हो। यहि कुरा भावनात्मक बुद्धिमत्ता (Emotional Intelligence) को महत्वपूर्ण आधार हो।

भावनात्मक साक्षरताका पाटाहरु बिस्तारै आफूमा लागू गर्दै जाँदा, मैले आफूलाई अझै संयम पाएँ। धेरै मानिसहरु मेरो यहि संयमताको प्रशंसा गर्छन्। आफ्नो बारे यस्तो प्रशंसा सुन्दा म दङ्ग पर्छु। तर यदि सँच्चै कसैले मलाई " "भावनात्मक साक्षरता"ले तिमीलाई कसरी सहयोग गर्‍यो?" भनेर सोध्छ भने म सहजै भनिदिन्थेँ "आफूले आफूलाई प्रेम गर्न सिकायो। यो नै सबसे ठूलो मद्दत भयो।"

"भावनात्मक साक्षरता"ले मलाई आफू को हुँ र के चाहन्छु भन्ने कुरा स्पष्ट रुपमा बुझ्न ठुलै आड दियो। हाम्रा सबै भावनाहरु पछाडि केही न केही जानकारी लुकेको हुन्छ भन्ने कुरा बुझेँ। जब हामीसँग भावनात्मक साक्षरताका औजारहरु हुन्छन्, तब मात्र हामी यी अनुभूतिहरु/भावनाहरुले दिने सुचनाहरु सहजै थाहा पाउन सक्छौँ। यी भावनाहरु पछाडिका सुचनाहरुले आफ्नै बारेमा महत्वपुर्ण जानकारी दिन्छन् र आफैँलाई बुझ्न अझै मद्दत गर्छन्।

अब प्रश्न उठ्न सक्छ- यी भावनाहरुले कस्ता खाले सुचना दिन्छन्। उत्तर सहज छ- यी सबै भावनाहरु हाम्रा चाहना/आवश्यकताहरु सँग जोडिएका छन्। ती आवश्यकता प्राप्त हुँदा हामी मीठास अनुभूति बटुल्छौँ। ती प्राप्त नहुँदा हामी 'अप्रिय' जस्ता लाग्ने भावनाहरु संगाल्छौ। यी अप्रिय जस्ता लाग्ने अनुभूतिहरु हाम्रा आवश्यकता पुर्तिका लागि शरिरको/मस्तिष्कको बिलौना पनि हो।

उदाहरणको लागि- तर्क/बहस चलिरहँदा कसैले चर्को आवाज गरेको मलाई फिटिक्कै मन पर्दैन। यो घृणाको अनुभूति ठिक एउटा मान्छेले चर्को स्वरमा बोल्दा म'मा किन पलाउँछ भनेर धेरै घोत्लिएँ। बिस्तारै थाहा पाएँ कि- मैले त्यो चर्को आवाजमा सम्भावित खतरा महसुस गर्छु। आफू सुरक्षित भएको आभास पाउँदिन र सुरक्षाको आवश्यकता माथी दखल पुग्ने भएर मलाई यसले टृगर गर्छ भन्ने कुरा बुझेँ। यो बुझाइले मलाई निकै सहयोग गर्‍यो। जब म नयाँ साथीहरु बनाउँछु, उनिहरुलाई म यो कुरा सुनाइहाल्छु यसकारण कि मसँग बोल्दा उनिहरुले चर्को आवाज गर्न नहुने कुरामा विचार पुर्‍याउन।

अर्को तिर- मलाई मेरी आमासँग समय बिताउन साह्रै प्रेमिल लाग्छ। यसकारण कि त्यहाँ मेरो सम्बन्धको अनुभूति, प्रेम र स्नेहको लालसाले प्राप्ती भेट्छन्। ती आवश्यकताहरु पूर्ण हुन्छन्।

सरल रुपमा भन्ने हो भने- हाम्रो अनुकुलमा, हाम्रो सहजतामा सबै कुराहरु भैरहेका छन् भने हामी सुखद अनुभूति बटुल्छौँ। तर यदि हाम्रो सहजता/अनुकुलता भन्दा बेगरका कुराहरु हुँदै छन् भने हामी दुखद अनुभूति संगाल्छौँ।

फेरि प्रश्न उठ्न सक्छ- सबै कुरा सधैँ आफ्नै अनुकुलमा हुन्छन् र? अनि वातावरण आफ्नो अनुकुलता भन्दा बाहिर छ भने नि? प्रतिकुलतामा सधैँ दुखद अनुभूति बटुल्नु कत्तिको उचित होला र? कतिपय मानिसहरुले दुखद अनुभूति संगाल्नुलाई अपरिपक्क हुनुको पगरी गुथाइदिन्छन्।

बाल्यकालका दिनदेखि नै, वरिपरिका मान्छेहरुले मलाई "तँ रिसाउनु हुन्न। धेरै नरिसा।" भन्ने खालको प्रतिकृया मात्र दिए। जब जब म रिसाएपछि प्रतिकृया दिन्थेँ, सबैले मलाई अवहेलनाको आँखाले मात्र हेरे। बिस्तारै, उनिहरुको घृणामा मिसिएर मैले पनि रिसाउँदै पिछे आफूलाई तौलिन थालेँ। लागिरह्यो- रिसले मलाई नराम्रो मान्छे बनाउँछ/बनाइरहेछ। रिसमा उनिएर मैले आत्मग्लानि मात्र बढाएँ। आफू रिसाउँदै पिछे आफूलाई घृणा गर्न सिकिरहेँ। आफैँ विरुद्द हुर्काएको घृणाले मलाई आत्मप्रेमको सुन्दरताबाट पर धकेलिरह्यो।

जीवनको ठिक यहि पाटोमा मलाई भावनात्मक साक्षरताले सहयोग पुर्‍यायो। आफ्ना जटिल जस्ता लाग्ने भावनाहरुलाई सहज रुपमा पस्किने वातावरण सिर्जित गरिदियो। अर्को कुरा भनेको चाहिँ- हाम्रा कुनै पनि भावनाहरु राम्रा वा नराम्रा हुँदैनन्। सबै सन्तुलित हुन्छन्। तटस्थ हुन्छन्। यिनिहरुले सुखद र दुखद अनुभूतीसम्म डोहोर्‍याउँछन् तर आफैँमा राम्रा वा नराम्रा हुँदैनन्। भावनाहरु प्रतिको हाम्रो प्रतिकृयाले भने हामीलाई हानी पुर्‍याउँछ/पुर्‍याउन सक्छ।

रिसाउनु कुनै समस्या होइन। यो एकदम स्वभाविक भावना हो। रिस त्यतिबेला मात्र समस्या हुन्छ जब रिसको प्रतिकृया स्वरुप हामी अरुमाथि यसलाई निकाल्न खोज्छौँ जस्तो कि अरुलाई पिट्ने, कुट्ने, सामान फाल्ने, कराउने आदि।

वास्तवमा, विश्व आजको अवस्थामा आइपुग्नुमा रिसको महत्वपूर्ण भूमिका छ। एक पटक उहिलेदेखिका तमाम सामाजिक विभेद, अन्यायलाई नियाल्नुस् त! यदि मानिसहरु राज्य सत्ताको/समाजको दमन विरुद्द आक्रोशित नभएको भए आजका कति धेरै प्रगतिशील अभियानहरुमा पूर्णविराम लागेको हुनेथियो। हामी जहाँ छौँ, त्यहाँ हुने थिएनौँ।

हाम्रा सम्पूर्ण भावनाहरुले महत्वपूर्ण जानकारी बोकेका हुन्छन् भन्ने कुरा हेर्ने दृष्टिकोण सबैले विकास गर्न आवश्यक छ। मलाई यो दृष्टिकोणबाट आफूलाई हेर्न "भावनात्मक साक्षरता" ले अहम् भूमिका निर्वाह गर्‍यो। मेरा भावनाहरुलाई चाहना/आवश्यकता सँग गाँस्न मद्दत गर्‍यो। आज म आफ्ना भावनाहरुलाई तौलिदिँन। बरु मेरा सबै सुखद, दुखद, प्रिय, अप्रिय अनुभूतिहरुलाई आत्मसात् गर्न सक्ने हौसला भावनात्मक साक्षरताले प्रधान गरेको छ।

Written in English by Mahima Poddar
Translated by: Prastuti Adhikari