भावुक हुनु र भावनाहरु बारे छलफल गर्नु
मैले भावनात्मक बुद्धिमत्ताका धेरै सत्रहरु लिँदा, प्रायजसो: "यदि म यत्तिकै पनि ठिकै छु भने आफ्ना भावनाहरु बारे छलफल गर्दा, मैले धेरै सोचेको जस्तो हुँदैन र?" " भावनाहरु बारे सोच्दा/बोल्दा हामी सामान्य अवस्थामा भन्दा बढि कमजोर र भावुक मान्छे ठहरिने सम्भावना बढि हुँदैन र?" "भावनाहरु माथि निरन्तर चिन्तन गरिरहँदा यसले हाम्रो निर्णय लिने प्रकृयालाई अझै जटिल बनाउँदैन?" भन्ने जस्ता प्रश्नहरु धेरै सुनिन्छन्।
यी सबै प्रश्नका हाँगाहरु हामीले दैनिक जीवनमा भावनाहरुलाई कुन रुपमा हेर्छौँ र तिनको व्यवस्थापन कसरी गर्छौ भन्ने कुराबाट पलाउँछन्। कसैलाई लाग्छ भावनाहरुले दुर्बलता जनाउँछन् किनकी हामी विवेकशीलताको ठिक विपरितमा भावुकता कमजोर वस्तु हो भन्ने दृष्टिकोण राख्छौँ। हामी सबैजना आफू विवेकी बनौँ भन्ने चाहना राख्छौँ तर जे नै भएपनि सर्वप्रथम त हामी मानवहरु अविवेकी प्राणी हौँ भन्दा दुइमत नहोला। यसको दोषि कोहि पनि होइन- हाम्रो जैविक बनावटले गर्दा अझै पनि हामी कुराहरुलाई त्यसरी नै लिन्छौ र प्रतिकृया देखाउँछौँ जसरी हजार वर्ष अगाडि लिन्थ्यौँ। यद्यपि हामी समयको एउटा लामो कालखण्ड पार गरेर यहाँ छौँ।
भावनाहरुले हाम्रो जीवनमा अहम् भूमिका खेलेका हुन्छन्। भावनाहरुले अर्थ राख्छन्। यिनिहरुले हाम्रो सिकाइ, हामीले गर्ने निर्णयमा प्रभाव पार्छन्। हामीले अरुलाई व्यवहार गर्ने तरिकामा हाम्रा भावनाले प्रभाव पुर्याउँछन्। अझ विशेषत: हाम्रो सम्पूर्ण अस्तित्वमा नै प्रभाव पार्छ। तसर्थ, भावनाहरुलाई अस्विकार गर्नु, चिन्तन नगर्नु, यिनलाई चिरफार नगर्नु भनेको हामीभित्रको मानवतालाई नै अस्विकार गर्नु झैँ हो। भावुकता व्यक्तिपरक दृष्टिकोण होइन। वास्तवमा भावुकता एउटा यस्तो यथार्थ हो जसकारण हामी एउटै कडिमा बाँधिएका छौँ। भावना बेगरका कोहि मानव हुन्नन्। तर मानव मानव बिच फरक छुट्याउने कडि भनेको- हामी आफ्ना भावनात्मक ढाँचाहरु बारे कत्तिको जानकार छौँ र तिनलाई कुन तवरमा व्यवस्थापन गर्छौँ भन्ने हो।
भावनाहरु बारे चिन्तन गर्नु भनेको धेरै सोच्नु वा कुनै कुरालाई सामान्य अवस्थाभन्दा बढी गम्भीर रुपमा लिनु भन्ने हुँदै होइन। ती दुई कुराहरु नितान्त फरक हुन्। आफैँलाई, आफ्ना भावनाका शैलीहरुलाई अझै मज्जाले बुझ्न भावनाहरु माथि गरिने चिन्तन र दिमाग भित्र एउटै कुरा घण्टौँसम्म खेलाइरहने प्रवृत्ती फरक कुरा हुन्। भावनात्मक सजगता भनेको विभिन्न समयमा, विविध कारण हामीले भोग्ने अनुभुतिहरु माथि विचार गर्ने र ती भावना/अनुभूतिहरुले के सङ्केत गर्छन् भन्ने कुरा बुझ्ने प्रकृया हो। यो प्रकृयाले हामीमा राम्रा कुराहरु छान्न सक्ने, हामीलाई मद्दत पुर्याउने क्षमताहरु विकास गर्दै लैजान्छ। यसर्थ, आत्म-सजगताले भविष्यका आवश्यताहरु सँग पनि मेल खाने गरि व्यवहारिक निर्णय लिन सहयोग पुर्याउँछ।
यो कुरालाई एउटा उदाहरणबाट अझै स्पष्ट बनाउँछु। मानौँ एउटा 'क' भन्ने मान्छे, उसलाई भोक लाग्दै पिछे आक्रोशित हुन्छ। त्यो अवस्थामा उसको अगाडि हुने मान्छे प्रती ऊ आफ्नो रिस खन्याउँछ। अब यदि ऊ आफ्नो यो आक्रोशको शैलीबारे जानकार छैन भने, उसको व्यक्तिगत र बाहिरी/व्यवसायिक सम्बन्धहरुमा असर पर्न जान्छ। अब मानौँ अर्को एउटा 'ख' भन्ने व्यक्ति पनि भोक लाग्दै पिछे उसैगरि आक्रोशित हुन्छ। तर मानौँ ऊ आफ्नो रिसको शैलीबारे जानकार छ। आक्रोशको शैली/पृष्ठभूमि बारे आफू जानकारी हुनु र नहुनुले के फरक पार्छ? अब 'ख' ले राम्ररी खान नभ्याएको बेला उसले आफूसँग केही खानेकुरा सँगै बोकेर हिँड्न थाल्छ। यसकारण, ऊ आफूलाई/अरुसँगको आफ्नो सम्बन्धलाई आक्रोशका नकारात्मक भावनाबाट टाढा राख्न सक्छ। रिसको शैलीबारे जानकार भैसकेपछि उसले आफू कतिबेला त्यसरी रिसाउँछु र अरु माथि पोखिन पुग्छु भन्ने कुरा आफ्ना साथीहरु बिच राख्न सक्छ यसर्थ कि खानाको उसको आवश्यकता पुर्ती नहुँदा उसको आक्रोशको सम्भावित प्रतिक्रियाबारे उनिहरु सचेत रहुन्।
यो अर्थमा, भावनात्मक आत्म-सजगताले मान्छेहरुको सम्बन्धहरुमा भावनात्मक दुरी घटाउँछ। यो बुझाउन म अर्को एउटा उदाहरण दिन्छु। पोहोर साल एउटा समयमा मेरो भाइले पहिले पहिले उसले ल्याउने जस्तो राम्रो नतिजा (ग्रेड) ल्याएन। जसले गर्दा बा-आमालाई नराम्रो लाग्यो। मेरी आमालाई भाइको नराम्रो नतिजा स्विकार गर्न गाह्रो पर्यो। उहाँ आफू नै शिक्षण पेशामा भएको हुँदा, शिक्षालाई नै सर्वप्रथम महत्व दिनुहुन्छ। जब जब आमाले भाइलाई मोबाइल/कम्प्युटर अगाडि देख्नुहुन्थ्यो तब तब यी 'डिभाइस' हरुमा बढि लिन भएकाले ऊ असक्षम बन्दै गैरहेछ भन्दै गाली गर्नुहुन्थ्यो। यसको प्रतिकृया स्वरुप स्वभाविक रुपमा नै मेरो भाइ कि त एकदम शान्त बसिदिन्थ्यो कि त निरन्तर लामो समयसम्म झगडा गर्थ्यो। झगडाको अवस्था पटक पटक दोहोरिन थालेपछि, एकदिन म पनि झगडामा सामेल हुने निर्णय गरेँ। साँच्चै, यो आक्षेप लगाउने र दोष दिने घटनाक्रम एकैछिनको कुराकानीले बन्द हुने सम्भावनै थिएन। उहाँहरु दुइजनाले आफ्नो कुरा एकाअर्कासँग राम्ररी व्यक्त गर्न र एकअर्कालाई भन्न खोजेको कुरा राम्ररी बुझ्ने वातावरण सिर्जना गर्न मैले निकै प्रयत्न गर्नुपर्यो।
मैले अन्त्यमा बल्ल बुझेँ कि आमाले निराशा व्यक्त गर्न खोज्नु भएको रहेछ। आफू भने अरु केटाकेटिलाई सिकाइमा सहयोग गरिरहँदा, आफ्नै छोरो चाहिँ पढाइमा राम्रो गर्न नसकेको कुरालाई आमाले स्विकार गर्न नचाहनु भएको रहेछ। उहाँ आफ्नो छोरालाई पढाइमा सहयोग गर्न खोजिरहनु भएको रहेछ। अर्को तिर, मेरो भाइलाई नराम्रो लागिरहेको रहेछ। आमाबाट राम्ररी सहयोग/सान्त्वना पाउनुको सट्टा उल्टै आक्षेप खेपिरहनु परेकोले गर्दा। आफूले राम्रो गर्न नसकिरहेको कुरा आमाले बुझिदिनु होओस् र केहि उपाय, सहयोग मिलोस् भन्ने चाहना राखिरहेको रहेछ।
जब सबै स्थिती सामान्य बन्यो तब आमा र भाइ एकअर्का सँग खुलेर आफ्ना चाहना, अपेक्षा र आवश्यकता व्यक्त गर्न सक्ने परिस्थिती सिर्जना भएको मैले पाएँ। अझै भाइको पढाइमा मद्दत पुगोस् र अपेक्षित नतिजा आओस् भनेर दुवैजना सँगसँगै काम गरिरहेको पनि पाएँ। हाम्रा सम्बन्धहरुमा यस्ता उतारचढाव धेरै आउँछन्। यस्तो पतिस्थितिमा, यदि हामीले हाम्रा भावना र आवश्यकताहरु माथि चिन्तन गर्न समय र प्रयत्न गर्छौँ भने हामी आक्षेप र लान्छनाको चक्रबाट बाहिर आएर भावनात्मक परिपक्वताका साथ काम गर्न सक्छौँ।
अर्को भनेको, सामान्यतया भावनाहरुले दु:ख र दुर्बलताहरु जनाउँछन् भन्ने आम घारणा रहेको छ। भावनात्मक कमजोरीहरु पहिचान गर्नुले हाम्रा भावनाहरुलाई राम्ररी बुझ्न, व्यक्त गर्न, स्विकार गर्न मद्दत गर्छन्। सर्वप्रथम त हाम्रा भावनाहरु अनुभूति गर्ने यो महत्वपूर्ण माध्यम हो। जब कुनै स्थितिलाई लिएर हामीले हाम्रा भावनाहरु व्यवस्थापन गर्न जान्दैनौँ तब हामीलाई नराम्रो लागेको, मान्छेहरुले आफूप्रति नराम्रो दृष्टिकोण राखेको जस्तो महसुस हुन थाल्छ। तापनि, जब हामी भावुक हुनु भनेको थोरै/धेरै उदास नै हुनु हो भन्छौँ तब हामीले गलत धारणा बनाइ रहेकै हुन्छौँ। हामीले दैनिक जीवनमा अनुभूति गर्ने धेरै भावनाहरुको घेराभित्र रहेर हेर्दा उदासी धेरै मध्येको एउटा भावना मात्रै हो। भावुक हुनु भनेको खुसी, उदासी, बेचैन, तनावग्रस्त, आवेग, आक्रोश, आशावादी, साम्य, आदि.. जुन सुकै भावनाहरु पनि हुनसक्छन्। उदासी सम्पूर्ण अनुभूति नभई कन, धेरै भावनाहरु मध्येको एउटा भावना मात्र हो।
जब हामी हाम्रा भावनाहरु माथि चिन्तन, मनन गर्ने कुरा सोच्छौँ, हामीलाई लाग्न सक्छ- यो जटिल प्रकृया हो र यसको लागि हाम्रो धेरै समय र उर्जा खर्च हुन्छ। हो, हाम्रो तर्फबाट धेरै समय र उर्जा लाग्छ नै। तर, जसै हामी हाम्रा भावनाहरु माथि चिन्तन गर्न थाल्छौँ, हामीले जीवनमा निर्णय गर्न लाग्ने समय एउटा महत्वपुर्ण लगानी जस्तो महसुस हुन्छ। भावनाहरु बारे हाम्रा प्रश्नहरुको उत्तर भेट्टाउन खर्च गरेको उर्जा उपयोगी महसुस हुन्छ। आफैँलाई बुझ्न गरेकी प्रयत्नहरु अर्थपूर्ण लाग्न थाल्छ। भावनात्मक आत्म-सजगता जीवनभर आफ्नै बारेमा बुझ्ने दिर्घकालिन सिकाइ हो। यदि हामी आफैँ विषय बन्दै छौँ भने- सिकाइ सँधै सहज नहोला तथापि रोचक हुनुपर्छ।
Written by: Aprajita Jha
Translated by: Prastuti Adhikari